सेबोनद्वारा पहिलोपटक ६ चरणमा आईपीओ आवेदन वर्गीकरण, दुई कम्पनी अन्तिम चरणमा
१२ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्काशनका लागि परेका आवेदनलाई पहिलोपटक प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा वर्गीकरण गरेको छ। बोर्डले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार १ सय १७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आईपीओ आवेदन प्रक्रियामा छन्।
तीमध्ये दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन पाँचौँ चरणमा समीक्षा भइरहेको छ। बोर्डको २०८३ कात्तिक ११ गतेसम्मको विवरणअनुसार यी कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन प्राप्त भएको अवस्था, प्रारम्भिक समीक्षा, कैफियत पठाइएको, जवाफ प्राप्त भएको, जवाफको समीक्षा भइरहेको र अन्तिम समीक्षा गरी छ चरणमा आवेदन वर्गीकरण गरिएको छ ।
दुई कम्पनी अन्तिम समीक्षामा
सेबोनको विवरणअनुसार आईपीओ निष्कासन प्रक्रियाको छैटौँ तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन् । यी दुई कम्पनीले कुल २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका हुन् । आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको विवरणमा उल्लेख छ ।

अन्तिम समीक्षा चरणमा पुग्नु आईपीओ निष्काशनको स्वीकृति प्राप्त हुनु भने होइन। बोर्डले आवश्यक कागजात, वित्तीय विवरण र नियामकीय मापदण्डको परीक्षण पूरा गरेपछि मात्रै स्वीकृतिसम्बन्धी निर्णय गर्छ।
१० कम्पनीको जवाफ समीक्षा हुँदै
पाँचौँ चरणमा १० कम्पनीका आवेदन छन् । यी कम्पनीले बोर्डले उठाएका प्रश्न वा कैफियतको जवाफ दिएपछि पेस गरेका कागजात तथा विवरणको समीक्षा भइरहेको छ । यस चरणमा एनसी एग्रोटेक इन्डस्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी छन् ।
यस चरणका कम्पनीले कुल ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । बोर्डको समीक्षा र आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै उनीहरूको आवेदन अर्को चरणमा प्रवेश गर्ने वा स्वीकृतिसम्बन्धी निर्णय हुने अवस्था आउँछ ।
चौथो चरणमा १९ कम्पनीका आवेदन छन् । यी कम्पनीले बोर्डले पठाएको कैफियतको जवाफ बुझाइसकेका छन् । यस चरणमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटललगायत कम्पनी रहेका छन् । उनीहरूले कुल ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
तेस्रो चरणमा भने बोर्डले आवश्यक सुधार गर्न वा थप विवरण उपलब्ध गराउन कैफियत पठाएका चार कम्पनी छन् । महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट यस चरणमा छन् ।

प्रकाशित मिति : October 29, 2026 at 1:42 pm










