धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीलाई धम्की दिँदै क्रिकेट रंगशालामा स्थानीयले लगाए डोजर
१५, जेठ, चितवन । धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिदै चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा केहि स्थानीयले डोजर लगाएर भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएकाे अनलाइन खबरमा सुवास पण्डितले समाचार लेखेका छन् ।

स्थानिय र नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएकाे एक स्थानीयले बताए ।
उनिहरूले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए । उक्त घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको र अन्य १६ जना पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने र कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग माग स्थानीयको छ । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए । अराजक शैलीमा एकाविहानै बार तोड्न आए, न कुनै छलफल छ न कुनै जानकारी भएकाे र यहाँका मान्छेलाई रंगशाला चाहिएको जस्तो देखिएन, हिजो घडा थापेर स्वागत गर्नेहरु आज रमिते बनेकाे अध्यक्ष कट्टेलले बताए ।’
प्रकाशित मिति : 14:16









