१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा पुग्याे

१२ जेठ, डोल्पा । डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो ।

शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीले अनुमति पाएपछि विज्ञसहितका १० जनाको टोली फोक्सुण्डो पुगेर तालको गहिराइ मापन गर्ने विज्ञ ध्रुवलोचन अधिकारीले जानकारी दिनुभयो ।

टोलीमा दुई जना सर्वे गर्ने इञ्जिनीयर, एक जना डुङ्गा चालक, जल तथा मौसम विभागका विज्ञ सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारीको टोली करीव चार दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने अधिकारीले जानकारी दिनुभयो ।

दिनमा दर्जनाँैपटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको र ६५० मिटर गहिरो तालका रूपमा जापानी नागरिकले विसं २०३६ मा प्रमाणित गरेको स्थानीय बताउँछन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा फोक्सुण्डो तालको गहिराइ लगायतका विशेषताका विषयमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीय आङबहादुर लामाले बताउनुभयो ।

दोस्रोपटक सन २००४ मा ब्याथिमेट्रिक सर्वे विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि फोक्सुण्डो तालको गहिराइ विवाद हालसम्म पनि कायमै रहेको छ । दोहोरो तथ्याङ्कका कारण हाल गहिरो ताल रारा भनेर उल्लेख गरिएपछि स्थानीय र डोल्पाका नागरिकले भने उक्त टोलीले पूराना मर्मत गरेका मेसिनले मापन गरी गलत तथ्याङ्क दिएको आरोप लगाइरहेका छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करीब ३६३५ मिटरको उचाइमा रहेका ५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क आउनेमा विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताउनुभयो । रासस

प्रकाशित मिति : May 26, 2019 at 2:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/