१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

इनमले दीपक भट्टको मुद्दामा दबाब बढाएपछि बालेनको सचिवालयमा पुगेको थियो न्यायाधीशको गुनासो

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर विचाराधीन मुद्दामा दबाब दिन थालेपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले प्रधानमन्त्रीको सचिवालयमा खबर गरेको खुलासा भएको छ । फुयालकै उजुरी र उपलब्ध गराएको सूचनाका आधारमा बिचौलिया इनम सापकोटा पक्राउ परेको उनको दाबी छ।

बिहीबार सर्वोच्च अदालतमा केही न्यायिक पत्रकारहरूसँग कुराकानी गर्दै फुयालले सापकोटासँगको सम्पर्क, उनले प्रधानमन्त्रीको नाम दुरुपयोग गरेको आशंका र आफूले गरेको उजुरीबारे खुलाएका हुन्।

फुयालका अनुसार सापकोटाले सुरुमा आफूलाई प्रधानमन्त्री शाहको निकट व्यक्ति र अमेरिकी दूतावाससँग सम्बन्धित व्यक्तिका रूपमा चिनाएका थिए। सुरुका दिनमा न्यायिक शुद्धीकरण र कानुनी राज्यका विषयमा कुरा गर्ने गरेका सापकोटाले पछि विचाराधीन मुद्दामा चासो देखाउन थालेपछि उनीमाथि शंका बढेको फुयालले बताए ।

फुयालको इजलासमा परेको गुप्ता थरका एक प्रतिवादीसम्बन्धी मुद्दामा सापकोटाले प्रधानमन्त्रीले ती व्यक्तिलाई थुनामै राख्न चाहेको बताएका थिए। तर, पर्याप्त आधार नदेखिएपछि फुयाल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो।

त्यसपछि सापकोटाले प्रधानमन्त्री न्यायाधीशहरूसँग असन्तुष्ट रहेको भन्दै दबाब दिएको फुयालको भनाइ छ। भदौ १८ गते होटल हिमालयमा भएको भेटमा पनि सापकोटाको व्यवहार शंकास्पद लागेको उनले बताए। उक्त भेटमा सर्वोच्चका अर्का न्यायाधीशसमेत सहभागी थिए। होटलको बिल अर्कै व्यक्तिको नाममा राख्न लगाइएको घटनाले समेत शंका बढाएको उनको भनाइ छ।

पछि विवादास्पद कारोबारी दीपक भट्टलाई छुटाउन प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै दबाब दिइएपछि फुयालले सचिवालयका व्यक्तिहरूसँग सम्पर्क गरेको बताए। उनले सापकोटा प्रधानमन्त्रीको प्रतिनिधि नभएको आशंका व्यक्त गर्दै सूचना र प्रमाण उपलब्ध गराएपछि दुई–तीन दिनमै पक्राउ परेको दाबी गरेका छन्।

दैनिकीले यसअघि ‘प्रधानन्यायधीश र रास्वापा सांसदको नाममा अमेरिकामा घुस, होटलमा भेट्न न्यायाधीशको प्रस्ताव’ शीर्षकको समाचार मार्फत न्यायाधीश फुयाँल र विचाैलिया सापकोटाको बीचमा भएको ह्वाट्सएप संवादसहितको समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : October 29, 2026 at 5:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/