१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

१२ कात्तिक, काठमाडौं । अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनुषाका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार यादवले बाइनान्स आइडी मार्फत २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन सट्टेबाजीका माध्यमबाट खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टो कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान गर्दा यादवको संलग्नतामा २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको देखिएको कार्यालयले जनाएको छ।

प्रहरीले प्रयोग गरेको प्रतिडलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरअनुसार उक्त कारोबारको नेपाली रुपैयाँमा मूल्य करिब २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुन आउँछ। यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं ल्याइएको छ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जुवा तथा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 29, 2026 at 5:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/