न्यायाधीश विचाैलिया वार्ताको बिल अर्कैको नाममा दर्ज
१२ कात्तिक, काठमाडौं । भदौ १८ गते होटल हिमालयमा सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको भेटमा बिचौलिया इनम सापकोटाले बिल अर्कै व्यक्तिको नाममा राख्न लगाएपछि आफूलाई उनीमाथि शंका लागेको न्यायाधीश हरिप्रसाद फुयालले बताएका छन् । यद्यपी उनले अर्कै व्यक्ति भनेको को हो भन्ने केही खुलाएका छैनन् ।
बिहीबार सर्वोच्च अदालतमा केही न्यायिक पत्रकारहरूसँग कुराकानी गर्दै फुयालले सापकोटासँगको भेट र उनको गतिविधिबारे खुलासा गरेका हुन् । उनका अनुसार उक्त भेट आफ्नै प्रस्तावमा भएको थियो, जहाँ सर्वोच्च अदालतका अर्का न्यायाधीशसमेत सहभागी थिए ।
फुयालका अनुसार सापकोटासँग एक पारिवारिक व्यक्तिमार्फत चिनजान भएको थियो । सुरुमा उनले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाह र अमेरिकी दूतावाससँग निकट रहेको व्यक्तिका रूपमा चिनाएका थिए। उनले अर्को विदेशी दूतावास, नेपाली सेनाका प्रधानसेनापति र प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग समेत विशेष सम्बन्ध रहेको दाबी गर्ने गरेको फुयालले बताए ।

सुरुका दुई महिनासम्म सापकोटाले न्यायिक शुद्धीकरण, कानुनी राज्य र न्यायालय सुधारका विषयमा कुरा गर्ने गरेको फुयालको भनाइ छ । तर, पछि विचाराधीन मुद्दामा चासो राख्न र प्रधानमन्त्रीको नाम लिएर दबाब दिन थालेपछि उनको भूमिकामाथि शंका बढेको उनले बताए ।
फुयालका अनुसार आफ्नो इजलासमा परेको एक मुद्दामा गुप्ता थरका प्रतिवादीलाई थुनामै राख्नुपर्ने भन्दै सापकोटाले प्रधानमन्त्रीको चाहना पनि त्यही रहेको बताएका थिए। तर, पर्याप्त आधार नदेखिएपछि फुयाल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले ती व्यक्तिसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो।
त्यसको भोलिपल्ट भएको होटल हिमालयको भेटमा बिल अर्कै व्यक्तिको नाममा राख्न लगाइएको घटनाले सापकोटाबारे थप अनुसन्धान गर्नुपर्ने निष्कर्षमा पुगेको फुयालले बताए ।
पछि सापकोटाले प्रधानमन्त्रीको निर्देशन भन्दै विवादास्पद कारोबारी दीपक भट्टलाई छुटाउन दबाब दिएको प्रसंगले शंका थपिएको उनको भनाइ छ। त्यसपछि प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएको र दुई–तीन दिनभित्रै सापकोटा पक्राउ परेको फुयालले दाबी गरेका छन् ।
दैनिकीले यसअघि ‘प्रधानन्यायधीश र रास्वापा सांसदको नाममा अमेरिकामा घुस, होटलमा भेट्न न्यायाधीशको प्रस्ताव’ शीर्षकको समाचार मार्फत न्यायाधीश फुयाँल र विचाैलिया सापकोटाको बीचमा भएको ह्वाट्सएप संवादसहितको समाचार प्रकाशित गरेको थियो ।
प्रकाशित मिति : October 29, 2026 at 5:15 pm










