११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

१२ जेठ, काठमाडाैँ । दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

निजहरुले प्रयोग गरेको तीन भरुवा बन्दुक पनि बरामद गर्नाका साथै उक्त कार्यमा संलग्न सोही ठाउँका ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घाइते चेपाङको बन्दुक खाली रहेको र अन्य दुई बन्दुक भरिएको अवस्थामा भेटिएको बताउनुभयो । दाहिने खुट्टाको घुँडामा गोलीको छर्रा लागेका घाइते चेपाङलाई थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको उहाँले बताउनुभयो । निजहरुले सो वन क्षेत्रमा बँदेल, जरायोलगायत जनावरको शिकार गर्ने गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनुपर्ने माग सहित मुद्दा दर्ता गर्न लागिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : May 26, 2019 at 1:46 pm