१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नेकपा राष्ट्रिय आवश्यकताको परिणामः रक्षामन्त्री पोखरेल

१० जेठ, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय आवश्यकताको परिणाम भएको बताउनुभएको छ । बिर्तामोडमा आज आयोजित नेकपा, झापाको ‘सपथ ग्रहण कार्यक्रम’मा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले भन्नुभयो, “यो कार्यकर्ताको चाहना, जनताको भावना र राष्ट्रिय आवश्यकताको परिणाम हो ।”

मुलुकमा राजनीतिक अस्थिरताका कारण छ/छ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न र मुलुककको आवश्यकता पूरा गर्न नेकपा बनेको उहाँले स्पष्ट पार्नुभयो । “कम्युनिष्ट फुट्न मात्र जान्छन्, जुट्न जाँदैनन् भन्ने थियो”, उहाँले भन्नुभयो, “हामीले कम्युनिष्ट जुट्न जान्छन् भन्ने सन्देश दिएका छौँ ।”

अब मुलुकमा एमाले र माओवादी नरहेको बताउँदै नेता पोखरेलले नेकपा मात्र रहेकाले विगतका अनुभव र शिक्षाबाट पाठ सिकेर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । काली र सेती गण्डकी मिलेर नारायणी बनेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कालो र सेतो छुट्याउने होइन, एकताको भावनाका साथ अघि बढ्नुपर्छ, एमाले र माओवादी भन्ने कुरा रहेन, नेकपा बनिसक्यो ।”

“दुई धार, तीन तरेलीको कमिटी बनाउनुहोस्”, दुई धार तीन तरेली तात्पर्य खुलाउँदै नेता पोखरेलले भन्नुभयो, “दुई धार भनेको पार्टीमा योगदान दिने कर्तव्यनिष्ठ कार्यकर्ता र पार्टीमा आवद्ध विषयविज्ञ (कृषि, शिक्षालगायत) हो, तीन तरेली भनेको पाका, अधवैंशे र युवा हुन्, यस्तो कमिटीले मात्र पार्टी सक्षम र सबल बन्न सक्छ ।” शृङ्खलाबद्ध कमिटी बनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “साङ्लोजस्तो पार्टी सङ्गठन बनाउनुपर्छ, त्यस्तो सङ्गठनमा ऊर्जा हुन्छ ।”

कम्युनिष्ट पार्टीमा ‘लैवरी लै हुने’ छूट नहुने बताउँदै नेता पोखरेलले पार्टीमा एउटै विशिष्ठ विचार हुने बताउनुभयो । “कम्युनिष्ट पार्टी एउटै चहकिलो विचारमा अघि बढ्नुपर्छ, खैँराती विचारले हुँदैन”, उहाँले भन्नुभयो, “त्यस्तो पार्टीले मात्र देशलाई सही दिशा दिन सक्छ ।”

कार्यक्रममा नेता पोखरेलले नेकपा झापा अध्यक्ष चिन्तन पाठक, सचिव मणि साम्पाङ (विजय) लगायत १७७ सदस्यीय कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । जिल्ला कमिटीमा तत्कालीन एमालेबाट १०५ र माओवादी केन्द्रबाट ७० जना जिल्ला कमिटीमा रहेकाका छन् ।

जिल्ला कमिटीमा अध्यक्ष पाठक, सचिव साम्पाङसहित सदस्यहरुमा, जनार्दन उप्रेती, गोपाल प्रसाई, राजेन्द्रकुमार पोखरेल, ख्यामनाथ मिश्र, अम्विका राजवंशी, सारदा प्रसाई पाठक, चन्द्रमान कन्दङ्वा, असारु राजवंशी, अमृता राई, अर्जुन पौडेल, ओमनारायण राजवंशी, एकराज तिम्सिना, एकराज कार्की, कमला आचार्य, कल्पना दर्नाललगात रहेका छन् ।

प्रकाशित मिति : May 24, 2019 at 7:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/