९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

कीर्ते गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ झिक्ने राजपाका २ केन्द्रीय सदस्य जेल चलान

६ जेठ, सप्तरी । कीर्ते गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ झिक्ने राजपाका २ केन्द्रीय सदस्य जेल चलान भएका छन् । कीर्ते गरी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ झिक्ने राजपा केन्द्रीय सदस्य बीपी यादव र हरि मण्डललाई सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यादव र मण्डलले प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न उनीहरुले कीर्ते उपभोक्ता समितिमार्फत २५ लाख रुपैयाँ लिएका थिए । गत वैशाख ५ गते यी दुबैलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले पक्राउ गरेको थियो । छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद छँदा रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए ।

त्यस्तै, राजगढ गाउँपालिका- ३ नर्घोमा घर भएका सप्तरीका पूर्व संयोजक समेत रहेका केन्द्रीय सदस्य मण्डल पनि कीर्ते  गरेर थुनामा गएका हुन्हु । मण्डलले सोही योजनामा कीर्ते गर्ने पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र राजपाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

यादव र मण्डलले अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेका थिए ।

प्रकाशित मिति : 18:45