१५ कार्तिक २०८१, बिहीबार | Fri Nov 1 2024

राष्ट्रियसभाका एक तिहाइ सांसदको पद गोलाप्रथाबाट जाने

–गंगा बराल

२० चैत, काठमाडाैँ । सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा। तर सत्य हो राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ। संविधानको धारा ८६ मा ‘राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि’ सम्बन्धी व्यवस्था छ। यो धाराको उपधारा ९३० मा लेखिएको छ– ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ।’ तर प्रतिनिधिसभाको कार्यकाल भने ५ वर्षको मात्र हुनेछ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ। प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो संसद् हो। सरकारद्वारा मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रियसभा नै स्थायी भएको र प्रतिनिधिसभालाई पनि निगरानी गर्ने भएकाले यसको महत्त्व झनै बढेको बताउनुभयो। ‘प्रतिनिधिसभा नरहँदा पनि राष्ट्रियसभा हुन्छ तर सदस्यको पदावधि भने गोलाप्रथाबाट नै हुनेछ।’ –उहाँले भन्नुभयो।
कानुन व्यवसायी र राष्ट्रियसभा मस्यौदा नियमावली समितिका सदस्यसमेत रहनुभएका बिडारीले भन्नुभयो– ‘गोलाप्रथा पनि कसरी गर्ने र केके क्षेत्रलाई छुटइउने भन्ने टुंगो लागिसकेको छैन।’ राष्ट्रियसभा मस्यौदा नियमावलीमा यी सबै विषय समेटिने उहाँको भनाइ थियो।

राष्ट्रियसभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिनेछ। सदस्यको पद रिक्त भएपछि जुन विधिबाट सदस्य निर्वाचित भएको हो, त्यही विधिबाट पदपूर्ति गर्नुपर्ने हुन्छ। मस्यौदा नियमावली समितिमा ९ सदस्य रहेका छन्। मस्यौदा नियमावली समितिका संयोजक परशुराम मेघी गुरुङले नियमावली बनाउने काम भइरहेको जनाउनुभयो ।

समितिलाई १ महिनाको समय दिइएको छ, यो २२ गते पूरा हुँदै छ। गुरुङले अहिलेसम्म ६ वटा बैठक बसेर केही विषय टुंगो लगाइएको बताउनुभयो। ‘३ वटा समिति रहने प्रस्ताव गरिएको छ, अन्य विषयमा छलफल भइरहेको छ’, गुरुङले भन्नुभयो– ‘प्रधानमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सकिने व्यवस्था समेटेका छौं।’ ५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका २⁄२ सदस्य रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना मनोनित गर्ने संवैधानिक व्यवस्था छ, मनोनित पनि भइसकेका छन् ।

यसैगरी प्रतिनिधिसभा मस्यौदा नियमावली पनि निर्माणको अन्तिम चरणमा पुगेको सदस्य रामवीर मानन्धरले बताउनुभयो। ‘दिनैपिच्छेजस्तो बैठक बसिरहेका छौं, हाम्रोतर्फबाट काम सकिन आँटेको छ।’ –मानन्धरले भन्नुभयो। अर्का सदस्य लक्ष्मणलाल कर्णले जिम्मेवारीपूर्ण ढंगले मस्यौदा बनाउँदै गरेको जानकारी दिनुभयो। ‘पुरानो अभ्यास र परम्परालाई आधार मानेका छौं, जसको एक मात्र उद्देश्य संसद्लाई व्यवस्थित गर्न सकियोस् भन्ने नै हो’, कर्णले भन्नुभयो– ‘१० वटा विषयगत समिति बनेका छन्, जसको सभापतिमा कम्तीमा पनि महिलालाई ३३ प्रतिशत सभापति दिइनेछ।’

प्रत्येक संसद् बैठकमा सांसद्हरूले मन्त्रीहरूलाई १ घण्टा र पहिलो वा अन्तिम महिनामा प्रधानमन्त्रीलाई कम्तीमा १० जना सांसदले एकपटक प्रश्न गर्ने कुरा नियमावलीमा उल्लेख छ। संसद् सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीको नेतृत्वको समितिले दुवै सदनको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि बनाएको थियो, जसअनुसार नै अहिलेसम्म दुवै संसद्को बैठक चलिरहेको छ। यही अन्तरिम कार्यविधिअनुसार नै राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्षको निर्वाचन भएको छ। प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसक्नुभएको छ। दुवै सदनको बैठक आज मंगलबार बस्दैछ । समाचारपत्र

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १०:०९