१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रेस रजिष्ट्रारकोको सेलो प्लेटको गाडी मध्यरातमा नाइट क्लबबाट निस्किएपछि…

१० जेठ, कास्की । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार कार्यालयको सरकारी सवारी साधनको चरम दुरुपयोग हुने गरेको विषय सार्वजनिक भएको छ । गत वैशाख ३१ गते राति मदिरा सेवन गरी पोखराको लेकसाइड क्षेत्रको रेस्टुरेन्टबाट निस्किएको अवस्थामा सरकारी स्कोर्पियो गाडी र त्यसमा सवार व्यक्तिहरूलाई एक युवाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको भिडियो नै सार्वजनिक भएको छ ।

उक्त गाडी प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले चढ्ने गरेको बिएए ०५४७ नम्बरको रहेको प्रहरीले जनाएको छ । युवाले समातेर प्रहरीकोमा बुझाएको दिन गाडीको अगाडिको सिटमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल र पछाडिको सिटमा सेन्टर फर मिडिया रिसर्चका उमेश श्रेष्ठ, अरुण कार्की लगायतका रहेको प्रहरी स्रोतले जनाएको छ ।

डिफान भुजेलको भिडियोबाट लिइएको स्क्रिनसर्टहरू ।

लेकसाइडको अन्नपूर्ण गार्डेन रेस्टुरेन्टमा मदिरा सेवन गरेर सरकारी गाडीमा निस्किएका उनीहरूले अभियन्ता डिफान भुजेलले गाडी रोकेर सोधपुछ गरेका थिए । उनले यसअघि पनि यसैगरी मध्यरातमा उक्त गाडी दुरूपयोग भएको भुजेलले उक्त भिडियोमा दाबी गरेका छन ।

भिडियोमा उनीहरू मदिरा सेवन गरेको अवस्थामा देखिएका छन् । अभियन्ता भुजेलले सरकारी सम्पत्तिको यस्तो दुरुपयोग सह्य नहुने भन्दै कडा आपत्ति जनाउँदै प्रहरी बुझाएर सावरी प्रहरी कार्यालय बैदाम पुर्याएको भिडियोमा देखिन्छ । “सार्वजनिक पदमा बसेका व्यक्ति र पत्रकारहरू नै यसरी मदिरा सेवन गरेर सरकारी गाडीमा हिंड्नु लाजमर्दो कुरा हो,“ अभियन्ता भुजेलले भनेका छन । घटनास्थलमा बैदाम प्रहरीलाई बोलाएर उक्त गाडीलाई नियन्त्रणमा लिन सफल भएको भुजेलले जानकारी दिएका छन । उनले सरकारी सम्पत्तिको यसरी अपमान गरिएमा जनताले नै भौतिक कारबाही गर्नेसम्मको चेतावनी पनि दिएका छन् । सार्वजनिक पद र स्रोतको दुरुपयोग विरुद्ध नागरिकस्तरबाट गरिएको यो खबरदारीले पोखरामा निकै चर्चा पाएको छ ।

भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : May 24, 2026 at 11:57 am