राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा पेस गर्ने कार्यादेश
१० मंसिर, काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै एक उच्चस्तरीय समिति गठन गरेका छन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवको संयोजकत्वमा गठित उक्त समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा सरोकारवाला संस्थाका प्रतिनिधि र क्षेत्रगत विज्ञहरूलाई समावेश गरिएको छ ।
मन्त्रालयका अनुसार समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहितको प्रारम्भिक मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने समयसीमा र कार्यादेश दिइएको छ । समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, आन्तरिक तथा बाह्य माग, भावी आवश्यकता र उपलब्ध सम्भावनालाई आधार बनाएर आगामी दिनमा अवलम्बन गर्नुपर्ने ठोस नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : November 26, 2026 at 5:44 pm














