१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नागढुंगा सुरुङमार्गको एन–ट्याग अब सानिमा बैंकका सबै शाखाबाट पाइने

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सवारीसाधन प्रवेशका लागि आवश्यक एन–ट्याग (N-Tag) अब सानिमा बैंकका देशभरका शाखाबाट लिन सकिने भएको छ। नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गमा विद्युतीय माध्यमबाट टोल शुल्क भुक्तानी गर्न आवश्यक रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रविधिमा आधारित एन–ट्याग बैंकका सबै शाखाबाट उपलब्ध गराइने भएको हो।

सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा विद्युतीय टोल संकलन (Electronic Toll Collection) प्रणाली लागू गरिएको छ। यो प्रणालीअन्तर्गत सवारीसाधनको अगाडिको सिसामा टाँसिएको एन–ट्याग स्टिकरलाई सुरुङमार्गको प्रवेश तथा निकास गेटमा जडान गरिएको उपकरणले स्वचालित रूपमा पहिचान गर्छ।

त्यसपछि सम्बन्धित ट्यागमा रहेको मौज्दातबाट टोल शुल्क स्वतः कट्टा भई गेट खुल्ने व्यवस्था छ। यसबाट सवारीचालकले टोल तिर्न लाइनमा पर्खिनुपर्ने झन्झट कम हुने र यात्रा छिटोछरितो हुने अपेक्षा गरिएको छ।

बैंकका अनुसार सवारीधनीले देशभरका जुनसुकै सानिमा बैंक शाखाबाट एन–ट्याग प्राप्त गर्न सक्नेछन्। एन–ट्यागमा ई–सेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङमार्फत रकम रिचार्ज गर्न सकिने व्यवस्था छ।

बैंकले यो सुविधा काठमाण्डौ उपत्यकामा मात्रै सीमित नराखी देशभरका शाखामार्फत उपलब्ध गराएको जनाएको छ। यसबाट उपत्यकाबाहिरका सवारीधनीले पनि आफ्नो नजिकको शाखाबाट एन–ट्याग लिन सक्नेछन्।

सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याङले राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानी सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए।

उनले बैंकको फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गरे। एन–ट्याग तथा यससम्बन्धी थप जानकारीका लागि नजिकको सानिमा बैंक शाखा वा बैंकको ग्राहक सेवा नम्बर ०१–५९७६९५० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित मिति : November 26, 2026 at 5:30 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/