चिसापानीमा दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
८ मंसिर, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीमा दुई समूहबीच झड्प भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहान करिव ४ बजे दुई पक्षबीच झडप हुँदा नियन्त्रण गर्ने क्रममा ८ राउण्ड हवाई फायर गर्नुपरेको हो ।
मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच विवाद बढेर झडप भएको थियो । त्यस क्रममा ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने काम भएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र सईसहित चार प्रहरी घाइते भएको बताइएको छ । दुई पक्षबीच झडप भएर मानवीय क्षतिको अवस्था आउन लागेपछि स्थिीति नियन्त्रणमा लिन इन्सार राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ । दुई पक्षबीचको झडपमा परेर घाइते भएका एक जनाको अहिले उपचार भइरहेको छ । झडपमा संलग्न भएको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : November 24, 2026 at 12:36 pm













