वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने पाल्पा तानसेन नगरपालिका-५ घर भएका २६ वर्षीया माल्भिका रावल र ललितपुर ललितपुर महानगरपालिका-२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन् ।
पक्राउ मध्ये माल्भिकाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले माल्भिका र सन्तोषलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति : November 24, 2026 at 11:46 am













