साइबर सुरक्षामा उत्कृष्ट देखिए नबिल, माछापुच्छ्रे र प्राइम बैंक
८ कात्तिक, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा देखिएको साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका बैंकका अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । प्राविधिक जाँच, सुरक्षा प्रणालीमा सुधार र आवश्यक अद्यावधिकपछि बैंकहरूले रोकिएका सेवा पुनः सुरु गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले पीएचपीमा आधारित प्रणालीमा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकलाई डिजिटल पूर्वाधारको सुरक्षा मजबुत बनाउन निर्देशन दिएको थियो ।
वेबसाइट तथा वेबमा आधारित प्रणालीमा सम्भावित साइबर आक्रमणको जोखिम देखिएपछि बैंकहरूले ग्राहकको विवरण र डिजिटल प्रणालीको सुरक्षा सुनिश्चित गर्न केही सेवा अस्थायी रूपमा बन्द गरेका थिए । आवश्यक प्राविधिक सुधार तथा सुरक्षा प्रणाली अद्यावधिकपछि केही बैंकहरूले सेवा सञ्चालनमा ल्याएका हुन् ।

प्राइम कमर्सियल बैंकले ग्राहक सुरक्षा र प्रणालीको जोखिम न्यूनीकरणका लागि अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप, ग्राहक पोर्टललगायत केही सेवा अस्थायी रूपमा बन्द गरेको थियो । अहिले बैंकले सूचना नै जारी गरेर सेवा पुनः सुरु भइसकेको जानकारी गराएको छ ।
त्यसैगरी, नबिल बैंकले एनबैंक माइक्रोसाइट, जेनअल्फा एप तथा अनलाइन कार्ड अनुरोध र मुद्दती निक्षेप कर्जासँग सम्बन्धित केही सुविधामा अस्थायी अवरोध आएको जनाएको थियो । बैंकले आफ्नो मुख्य वेबसाइट अद्यावधिक गरी सञ्चालनमा ल्याएको र बैंकिङ प्रणालीमा समस्या नरहेको जानकारी दिएको छ ।
माछापुच्छ्रे बैंकले पनि पीएचपीमा आधारित प्रणाली अद्यावधिक गर्न बैंकको वेबसाइट तथा केही वेबमा आधारित सेवा अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको थियो । आवश्यक प्राविधिक काम पूरा भएपछि वेबसाइट र अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : October 25, 2026 at 10:52 am










