एउटै पार्टीको दुइटा महाधिवेशन हुँदैन, विधानविपरीत जानेलाई कारबाही हुन्छः सभापति थापा
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एकै पार्टीको दुई वटा महाधिवेशन हुन नसक्ने बताउँदै त्यस्ता गतिविधि बन्द गर्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशन सम्पन्न भइसकेकोले अब फेरि कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न नमिल्ने बताएका हुन् । उनले पार्टीको विधानविपरीत गतिविधि गर्नेहरूलाई विधानबमोजिम कारबाही हुने स्पष्ट पारेका छन्।

राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई नयाँ पार्टीमा लाग्ने हो भने राजीनामा दिन सभापति थापाको सुझाव छ। ‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ उनले भने, ‘तपाईं हिजो विशेष महाधिवेशनमा भाग लिनु भयो या भएन, पछिको महाधिवेशनमा भाग लिनु भयो या भएन भन्दा पनि कांग्रेस सदस्य भएर अर्को पार्टीको चुनावमा जानु भयो भने पार्टीको विधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हो।’
देउवा समूहले थालेको महाधिवेशनको प्रक्रियालाई फरक पार्टीको गतिविधिको रुपमा संकेत गर्दै थापाले जनप्रतिनिधिलाई कारबाही हुने बताए। साथै, थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक कद र मर्यादाअनुसारको स्तर कायम राखेर अभिव्यक्ति दिनुपर्ने बताएका छन्।
प्रकाशित मिति : November 24, 2026 at 4:52 pm













