९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

भारतले दिने १८४ अर्ब ऋण आयोजनाको प्रगति अनुसार उपयोग हुन्छः अर्थमन्त्री वाग्ले

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए । नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ ।

‘समग्रमा, भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित महत्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको छ,’ उनले भने, ‘यी उपलब्धिले नेपालको पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।’

विशेषगरी प्रशारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए । यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यद्यपि १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले बताए ।

 अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धि भएको बताए । नेपालले विगत १०–१२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले अबसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाइएको जानकारी दिए । यसले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए । आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय शहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : November 24, 2026 at 4:18 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/