तरलता व्यवस्थापनका लागि बजारबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार असोज २३ गते ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् ।

इच्छुक इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत आफ्नो बोलकबोल प्रस्ताव पेस गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार यस उपकरणमार्फत उठाइने रकमको साँवा तथा आर्जित ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ। यसको ब्याजदर भने बोलकबोलमा सहभागी बैंकहरूले प्रस्ताव गरेको दरका आधारमा तय हुनेछ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ७० अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम १० करोड रुपैयाँले भाग जाने गरी हुनुपर्नेछ ।
प्रकाशित मिति : October 9, 2026 at 11:42 am






