साना व्यवसायीको क्षमता अभिवृद्धि गर्न कामना सेवा विकास बैंक र महासंघबीच सम्झौता
२१ असोज, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच देशभरका साना तथा मझौला व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच सातै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा. गोपाल तिवारीले हस्ताक्षर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत अन्य पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सम्झौतापश्चात सातै प्रदेश र क्रमिक रूपमा अन्य क्षेत्रहरूमा समेत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए । यस कार्यक्रमले उद्योगी व्यवसायीहरूको वित्तीय ज्ञान अभिवृद्धि हुनुका साथै वित्तीय अनुपालना कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले बैंकलाई धन्यवाद ज्ञापन गरे।
त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी व्यवसायीहरूलाई आफ्ना वित्तीय विवरणहरू तयार पार्न तथा सोसँग सम्बन्धित वित्तीय अनुपालना कायम राख्न सरोकारवालाहरूको उपस्थितिमा तालिम दिइने बताए। यसका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने र यसबाट व्यवसायीहरूको क्षमता थप सुदृढ हुने विश्वास उनले व्यक्त गरे। बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ ।
प्रकाशित मिति : October 7, 2026 at 10:25 am






