४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बैंकिङ प्रणालीमा १२.६८ प्रतिशत पुँजीकोष, मोबाइल बैंकिङबाट ५ खर्ब ८० अर्बको कारोबार

४ असोज, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय सबलता कायम रहेको देखिएको छ । २०८३ साउन मसान्तको प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी र जोखिम भारित सम्पत्तिसँगको पुँजीकोष अनुपात क्रमशः ९.८९ प्रतिशत र १२.६८ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपबीचको अनुपात ३७.५९ प्रतिशत रहेको छ । यसले बैंक तथा वित्तीय संस्थामा तत्कालीन दायित्व व्यवस्थापनका लागि उपलब्ध तरल सम्पत्तिको अवस्था देखाउँछ ।

यस्तै, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.६६ प्रतिशत रहेको छ । बैंकिङ क्षेत्रमा खराब कर्जाको अवस्थालाई प्रमुख वित्तीय सूचकका रूपमा हेरिने भएकाले निष्क्रिय कर्जाको यो अनुपात बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थासँग प्रत्यक्ष जोडिएको छ ।

dainiki.com

यसैबीच, मुलुकमा विद्युतीय भुक्तानीको प्रयोग पनि तीव्र रूपमा विस्तार भइरहेको तथ्याङ्कले देखाएको छ । २०८३ साउन महिनामा डेबिट कार्डमार्फत ९६ लाख ५२ हजार कारोबार भएका छन् । ती कारोबारको कुल मूल्य ७१ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

मोबाइल बैंकिङअन्तर्गत ७ करोड ८७ लाख कारोबारमार्फत ५ खर्ब ८० अर्ब ५६ करोड बराबरको कारोबार भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, क्यु–आर कोडमार्फत हुने भुक्तानी पनि उल्लेख्य रहेको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ७ करोड २४ लाख कारोबारमार्फत १ खर्ब ६४ अर्ब ४३ करोडकाे कारोबार भएको छ । पछिल्लो तथ्याङ्कले बैंकिङ प्रणालीमा पुँजी तथा तरलताको अवस्था कायम रहनुका साथै नगदरहित तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगसमेत व्यापक रूपमा बढिरहेको देखाएको छ ।

प्रकाशित मिति : September 20, 2026 at 10:47 am