रास्वपा सांसद्को प्रश्नः राजदूत नियुक्ति गर्न कसले रोक्यो ?
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले राजदूत नियुक्तिमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले विभिन्न देशमा राजदूत खाली रहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।

राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो नहुने उल्लेख गर्दै उनले अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ? भन्दै प्रश्न गरे । रास्वपालाई जनताले दुई तिहाइ मत दिएर पठाएको स्मरण गराउँदै उनले देशमा योग्यता र क्षमता भएका नागरिक पनि रहेको बताए । योग्य नागरिक पनि प्रशस्तै रहेको उल्लेख गर्दै उनले भने, हामी सांसदले पार्टी र सरकारलाई विश्वास गरेर साथ दिएकै छौँ । योग्यता भएका नागरिक पनि प्रशस्तै छन् । के ले रोक्यो ?कसले रोक्यो सरकार ?
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारी गरेका बेला अमेरिकामा समेत नेपाली राजदूत नरहेको बताउँदै यस्तो अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरे ।
प्रकाशित मिति : September 16, 2026 at 3:17 pm


