मन्त्रीलाई हेलिकप्टर पठाउने राज्यले नागरिकलाई राहत पठाउन सक्दैनः बासना थापा
२ भदाै, काठमाडाैं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मन्त्रीका लागि हेलिकप्टरबाट उद्धार गर्ने राज्यले नागरिकलाई भने सामान्य राहतसम्म पनि पुर्याउन नसकेको भन्ने टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताले सिटामोल नपाइरहेको बेलामा मन्त्रीलाई ३०/३५ लाख खर्च गरेर काठमाडौं ल्याइएको बताइन्।
‘जनताले राहत पाउँदैनन्, औषधि पाउँदैनन्, सुत्केरीले समयमा उपचार पाउँदैनन्, काठमाडौंमा हुर्केका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसक्दा लाखौं खर्चेर हेलिकप्टरमा ल्याइन्छ,’ उनले भनिन्, ‘मन्त्रीलाई ३०/३५ लाख खर्चने राज्यले नागरिकलाई ३ लाख खर्चेर राहत दिन सक्दैन।’
उनले बिहान–बेलुकाको छाक टार्न समेत कठिन भएका नागरिकलाई सरकारले एक सिलिन्डर ग्यास समेत दिन नसकेको बताइन्। उनले भनिन्, ‘यो कस्तो सुशासन हो? सरकार कान खोलेर सुन्नुहोस्, मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो समानता राज्य? के यही हो जनताको सरकार?’
प्रकाशित मिति : August 18, 2026 at 2:14 pm


