दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
९ साउन, चितवन । दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ । डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दूध नआएपछि बन्द भएको हो ।
उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत वर्षमा असार र साउनमा दूधको अभावमा बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखबाट नै उद्योग बन्द भएको हो । उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दूध सकिने अवस्थामा पुगेको छ । नौनी खासै मौज्दात नभएको भन्दै उहाँले पाउडर दूध एक हजार बोरा बाँकी रहेको बताउनुभयो ।
विगत वर्षहरूमा यतिबेला ५०० टन नौनी र छ हजार बोरा हाराहारी पाउडर दूध मौज्दात हुने गर्दथ्यो । चितवन, मकवानपुर, नवलपरासी, रूपन्देहीलगायत जिल्लाबाट यहाँ दूध आउने गर्दछ ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । भदौबाट दूध आउने प्रतीक्षामा आफूहरू रहेको पराजुली बताउनुहुन्छ । उद्योगमा ३३ जना कर्मचारी छन् ।
विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताउनुभयो ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार भारतीय सीमा क्षेत्रबाट दूध भारततर्फ गएकाले नेपालमा दूधको सञ्चिति नभएको हो । भारतमा अहिले दूधको अभाव छ । यहाँको दूधले बजार पाइरहेको छ । जसका कारण प्रशोधनका लागि दूध अभाव छ । किसानले राम्रो मूल्य पाएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : July 25, 2026 at 9:16 pm



