प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने प्रदीप अधिकारीसहित तीन विरूद्ध मुद्दा
२९ वैशाख, काठमाडाैँ । प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडाैँका डिएसपी काैशलकुमार बुढाथोकीले विज्ञप्ति मार्फत तीन जनाकोविरूद्धमा मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ ।
धम्की दिने समूहका नाइके नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी, काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ताराप्रसाद खरेलविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो । उनीहरूले संगठित रुपमा अख्तियार प्रमुख राईलाई इजीएन नामको आतङ्कवादी संगठनको नाम लिएर राजीनामाको दबाब दिँदै आएको बुढाथोकीले बताउनुभयो ।

प्रहरीका अनुसार चारवटा कुसरमा सजाएको माग गरिएको छ । आपराधिक लाभ लिन नहुने कसूर, आपराधिक षडयन्त्र गर्न नहुने कसूर, विद्युतीय कारोबार ऐन विरुद्धको कसूर र संगठित अपराध ऐनविरुद्धको कसूरमा कारबाहीका लागि माग गरिएको छ ।
प्रहरीले नेपालन्युजका अध्यक्ष प्रमोद सेढाईसहित ८ जनाको हकमा थप प्रमण जुटेमामात्र मुद्दा दर्ता गर्ने उल्लेख गरेको छ ।



प्रकाशित मिति : 22:33









