२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

अब अनलाइनबाटै नयाँ एनटीसीको प्रिपेड ई-सिम लिन सकिने

२८ वैशाख, काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन ।

नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको गेट न्यु प्रिपेड ई–सिम (Get New Prepaid eSIM) मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।

त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुन्छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिन्छ ।

esim.ntc.net.np लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो । यो भन्दा पहिले देखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ ।

नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध छ ।

प्रकाशित मिति : 13:28