२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

२८ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गर्नुभयो । उहाँले आफैँले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा सञ्चालन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालमा पहिलेको तुलनामा धेरै सुधार भएको छ, बिरामीको उपचारमा विशेष ध्यान दिएका छौँ । अस्पतालमा ‘डिजिटल’ प्रणालीमार्फत सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ ।”

मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज बनाउनका लागि छलफल भइरहेको समेत उल्लेख गर्नुभयो । उहाँका अनुसार आज एकै समयमा मुलुकभरका सबै अस्पतालमा सरसफाइ अभियान सुरु गरिएको छ ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य केपी खनालले अस्पतालमा बाहिर प्लाष्टिकको फोहोर भेटिएको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आगामी दिनमा अस्पतालले प्रशासनले सफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्रा डा प्रभा कोइरालालगायतको सहभागिता थियो ।

सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सुरु गरेको हो । अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन गरिनेछ । अभियान सञ्चालन गर्नका लागि सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ समेत जारी गरेको छ ।

सरकारले सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न, सरसफाइसम्बन्धी आचारण विकास गर्नका लागि सरसफाइ अभियान सुरु गरेको हो ।

प्रकाशित मिति : 12:12