बैतडीमा मन्त्री सवार गाडी बससँग ठोक्कियो
२४ वैशाख, बैतडी । बैतडीको मेलौली नगरपालिका–२ सलेनामा मन्त्री सवार गाडी र बस एक-आपसमा ठोक्किएका छन्। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्रुवाहक बस बिहीबार साँझ दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार साँझ सवा पाँच बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु।प।प्र।०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको सु।प।प्र।०१–००१ झ ४५२ नम्बरको मन्त्री सवार गाडी सलेना क्षेत्रमा ठोक्किएका हुन्।
दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ भने कुनै मानवीय क्षति भएको छैन।
घटनापछि अस्थायी प्रहरी पोष्ट सलेनाबाट प्रहरी हवलदार रमेश भट्टको कमान्डमा खटिएको टोली घटनास्थलमा पुगेर दुवै पक्षबीच छलफल गराएको थियो। छलफलपछि बस पक्षले क्षतिग्रस्त गाडी मर्मत गर्ने सहमति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : 19:27









