सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो
२२ वैशाख, काठमाडौं । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका क्रममा भेटिएको शव डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको छ ।
पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौँ ल्याइएको जानकारी दिनुभयो ।
महानिर्देशक लामिछानेले पहिचान खुल्न नसकेको उक्त शवलाई हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
विभागले विगतमा सगरमाथा क्षेत्रमा आरोहणका क्रममा बेपत्ता भएका स्वदेशी वा विदेशी आरोही तथा सहयोगी कामदारका बारेमा कुनै जानकारी भएमा विभागमा उपलब्ध गराउन पर्वतारोहण सञ्चालक सङ्घ र ट्रेकिङ एजेन्सीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : 16:10









