१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

हप्तामा दुई दिन छुट्टी पाएका कर्मचारीले महिनामा दुई पटक तलब पाउने

६ वैशाख, काठमाडौँ । नेपाल सरकारले सरकारी कर्मचारीहरूको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा हुँदै आएको तलब भुक्तानीलाई अर्धमासिक (महिनामा दुई पटक) गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री स्वर्णीम वाग्लेले निर्णय गरी महालेखा नियन्त्रकको कार्यालयमा पत्राचार समेत भएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा सुमन दाहालले महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै यस्तो व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । पत्रमा उल्लेख भएअनुसार राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता हाल मासिक रूपमा भुक्तानी हुँदै आएको भए पनि अब त्यसलाई अर्धमासिक रूपमा वितरण गर्ने गरी प्रणाली विकास गर्न भनिएको छ।

dainiki.com

मन्त्रालयले २०८३ साल वैशाख ४ गते मन्त्रीस्तरको निर्णय अनुसार अर्धमासिक भुक्तानी प्रणाली लागू गर्ने निर्णय गरेको उल्लेख गरेको जनाएको छ । सोही निर्णय कार्यान्वयन गर्न आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई अनुरोध गरिएको हो ।

यो व्यवस्था लागू भएमा सरकारी कर्मचारीहरूले प्रत्येक महिना दुई पटक तलब पाउनेछन्, जसले नगद प्रवाह व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । साथै, कर्मचारीहरूको आर्थिक योजना र दैनिक खर्च व्यवस्थापनमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यसअघि सरकारले हप्तामा दुई दिन छुट्टी दिने निर्णय गरेको थियो । जस अनुसार अहिले पनि शनिबार र आइतबार बिदा भैरहेको छ ।

प्रकाशित मिति : 22:28