तत्काल गाडीको भाडा नबढाए सवारी साधन बन्द गर्ने यातायात व्यवासायीको चेतावनी
११ चैत, काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि तत्काल सार्वजनिक यातायात भाडा समायोजन नगरे सेवा सञ्चालन प्रभावित हुने चेतावनी दिएको छ ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो लागतका कारण व्यवसायीहरू दैनिक ठूलो घाटामा रहेको उल्लेख गर्दै सरकारसँग यथाशीघ्र वैज्ञानिक आधारमा भाडा समायोजन गर्न माग गरेको हो । नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। उक्त मूल्यवृद्धिले सार्वजनिक यातायात सञ्चालन खर्चमा प्रत्यक्ष प्रभाव पारेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासंघका अनुसार मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ ।
यसैबीच यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ । विभागले २०६५ सालदेखि लागू वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, तराई मालवाहकतर्फ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने सिफारिस गरेको जनाएको छ ।
महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १६:५५














