आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
५ चैत, काठमाडौं । धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न दिएको निर्देशनप्रति धादिङका १३ वटै पालिकाले आपत्ति जनाएका छन् ।
जिल्लाका सबै स्थानीय तहका प्रमुख,अध्यक्ष एवं उपप्रमुख, उपाध्यक्षहरूको संयुक्त बैठकले स्थानीय तहको संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै कडा प्रतिवादको चेतावनी पनि दिएका छन् ।
नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको नेतृत्वमा बसेको बैठकले नेपालको संविधान २०७२ को धारा २३३ (१) बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता व्यक्त संविधानको अनुसूची ८ मा व्यवस्था भएको एकल अधिकार निर्वाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
‘प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरू कुण्ठित गरी प्रशासनमार्फत अंकुश लगाउने प्रयासका रुपमा लिँदै स्थानीय सरकारको अधिकार क्षेत्रमा सुरु भएको सांकेतिक हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ,’ स्थानीय तहका जनप्रतिनिधिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १५:३८













