१५ जिल्लाका ६१ स्थानको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने
२० फागुन, काठमाडौं । निर्वाचन आयोगले हुम्ला र डोल्पासहित विभिन्न १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने जनाएको छ।भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।
आज आयोगले निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हुम्ला र डोल्पामा मतदानका लागि आवश्यक सामग्री र कर्मचारी समेत हेलिकप्टरमार्फत नै पठाएको जानकारी गराएको हो।
अन्य निर्वाचन क्षेत्रमा सवारी साधनबाट सबै सुरक्षा संयन्त्रको सहयोगमा संकलन गरिने जनाएको छ। एकीकृत सुरक्षा व्यवस्था अनुसार नै सुरक्षा व्यवस्था सरकारले मिलाएको जानकारी आएको समेत आयोगले जनाएको छ।
मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ ।
प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १६:२७










