१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

१८ फागुन, रामेछाप । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले बताउनुभयो ।

दुर्टनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाईते भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उक्त गाडीमा ११ जना सवार रहेको बताईएको छ ।

उनीहरुमध्ये ३ जना गाडीबाट हाम फालेका थिए । मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक वद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करीव २ सय मिटर तल खसेको हो । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो । उद्धार पश्चात घाईतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाईएको छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १७:४३