चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग
७ फागुन, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावरले तीन वटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।
जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत बिनियोजन भएको रु. १० लाख ८० हजार बजेटबाट स्मार्ट बोर्ड उपलब्ध गराइएको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार अमर मावि चिमखोलालाई तीन, वडा कार्यालय, सिद्ध र चिमखोला आधारभूत विद्यालयमा एक÷एक थान ६५ इञ्चको स्मार्ट बोर्ड सहयोग प्राप्त भएको हो । विद्यालयमा प्रबिधीमैत्री पठनपाठन र वडा कार्यालयमा हुने तालिम, बैठकमा प्रस्तुतिका लागि प्रोजेक्टरको विकल्पमा स्मार्ट बोर्ड प्रयोग गरिने वडा अध्यक्ष पाइजाले बताउनुभयो ।
विद्यालयको कक्षा कोठाको भित्तामा ‘स्मार्ट टिभी’ र ‘बोर्ड’ राखिएको छ । इन्टरनेटमा सन्दर्भ सामग्री खोजेर पढाउन थालिएको अमर माविका प्रअ खबहादुर थापाले बताउनुभयो । विद्यार्थीमा सिकाई उपलब्धी बढाउन र शिक्षकहरुलाई सिर्जनशिल तथा प्रबिधीमैत्री बनाउन यस्तो अभ्यास गरिएको हो ।
सूचना प्रविधिको प्रयोग गरेर पठनपाठन गराउन विद्यार्थीले अध्ययनमा रुची देखाउने र सिकाई उपलब्धी वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १५:४८










