नागा बाबा र साधुसन्तलाई ३० लाख रुपैयाँ बजेट, ५ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिँदै
-पूर्णप्रसाद मिश्र/रासस
५ फागुन, काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।
विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिनुभयो ।
बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिनुभयो । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ ।
पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिनुभयो ।
“पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो । कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ”, उहाँले भन्नुभयो ।
पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ ।
पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो ।
“कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ”, कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भन्नुभयो, “कोषले रु पाँच हजार एक २० साधुलाई, रु एक हजार एक दुई सय साधुलाई, रु ७०१ एक हजार साधुलाई, रु ५०१ एक हजार साधुलाई, रु ३०१ एक हजार तीन सय साधुलाई, रु २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई रु १०१ दक्षिणास्वरुप दिनेछ” ।
साधुलाई दान दक्षिणाका लागि रु आठ लाख बजेट कोषले छुट्याएको उहाँले जानकारी दिनुभयो । कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई रु सात लाखको ५० हजार किलो दाउरा किनिएको संस्थानका उपप्रशासक पाण्डेले बताउनुभयो ।
भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी रु १५ करोड पुगिसकेको पनि कोषले जनाएको छ ।
पशुपतिमा फोहरको डङ्गुर
शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहरको डङ्गुरले भरिएको छ । करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहिसक्नुभएका स्थानीयवासी गोपालप्रसाद सुवेदीले बताउनुभयो । “कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन”, उहाँले भन्नुभयो ।
फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आउनुभएका दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताउनुभयो । हजारौँ कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आमभक्तजनको गुनासो रहेको छ ।
कोषका सदस्य सचिव डा टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताउनुभयो ।
नागाबाबा हेर्नेको घुइँचो
शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो ।
नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्र्दै आउनुभएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताउनुभयो । क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उहाँको भनाइ छ ।
भारत वनारसबाट आउनुभएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताउनुभयो ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १०:०८










