राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
१ फागुन, काठमाडौँ । राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त प्रतिवेदन पेस गर्नुभयो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नुभयो ।
बैठकको अध्यक्षता गर्नुभएकी राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभयो ।
राष्ट्रियसभाको १९ औँ अधिवेशन अन्त्य
राष्ट्रियसभाको १९औँ अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गर्नु भएको हो ।
राष्ट्रियसभा अध्यक्ष दाहालले आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १६:०७










