राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश
१४ माघ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा उक्त विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले सर्वसम्मत रूपमा दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
साथै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुभयो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १९ गते सोमबार १ः१५ बस्नेछ ।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १७:१६







