१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

उत्तरी गोरखामा भारी हिमपात, स्थानीय खुसी

१४ माघ, गोरखा । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको स्थानीयवासीको भनाइ छ ।

“बिहान ३ः०० बजेदेखि हिउँ पर्न सुरु गरेको हो”, चुमनुब्री–७ का पासाङफुञ्जो लामाले भन्नुभयो, “हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन् ।” खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उहाँको भनाइ छ ।

“सँधै हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अब बल्ल हिउँ पर्यो । आगालागीको पनि डर हट्यो । हुरीबतास चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो । त्यस्तो पनि नहुने भयो अनि मङ्सिरमा लगाएको गहुँखेतीले पनि पानी पाउने भयो । वनको झारलहरूले पनि पानी खान नपाएर आत्तिसकेका थिए । अब पानी खान पाउने भए”, उहाँले भन्नुभयो ।

हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका छन् भने करिब एक फिट हिउँ जमेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १४:००