तीन पुस्ताको मिलन गराउन ताप्लेजुङवासीको वनभोज
५ माघ, काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्रले जिल्लाबाट काठमाडौं उपत्यकामा आइ स्थायी र अस्थायी रूपमा बसोबास गर्ने नागरिकको तीन पुस्ताको मिलन गराउन वनभोज आयोजना गरेको छ । वनभोजमा पाँच हजार भन्दा बढीले सहभागिता जनाउने केन्द्रले बताएको छ ।
सोमबार पत्रकार सम्मेलन मार्फत सरोकार केन्द्रक अध्यक्ष बलबहादुर तामाङले ताप्लेजुङवासीहरूबीच आपसी सद्भाव, एकता र सहकार्य प्रवर्द्धन गर्नुका साथै तीन पुस्ताबीच आपसी भेटघाट र भावनात्मक सम्बन्ध सुदृढ गर्ने, जिल्लाको विकासमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रेरित गर्ने उद्देश्यले वनभोज आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले १४ वर्षदेखि यस कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सरोकार केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले काठमाडौंमा ताप्लेजुङको संस्कृति र रहनसहनको प्रदर्शनी गर्न वनभोज गरिएको जानकारी दिनभयो । उहाँले वनभोजमा जिल्लाको बहुजातीय तथा बहुसांस्कृतिक पहिचान झल्काउने तामाङ सेलो डम्फु, च्याबु, ख्याबु, साकेला, कोडा, गुरुङ नृत्य, लाखे नाचलगायत विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने जानकारी दिनुभयो । साथै सहभागीहरूका लागि मनोरञ्जनात्मक खेलकुदहरू चियर रेस, डोरी तान, घैटो फुटाउने लगायत समेत व्यवस्था गरिएको बताउनुभयो ।
जिल्लाको प्रतीकात्मक आत्मीयता, साझा पहिचान तथा आपसी सद्भावलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले वनभोज गरिएको कार्यक्रमका संयोजक लोजक लामा रूईटले बताउनुभयो ।
कार्यक्रममा राजधानी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने ताप्लेजुङवासीहरूलाई एउटै साझा मञ्चमा एकत्रित गराउँदै सामाजिक एकता, भावनात्मक सम्बन्ध, सांस्कृतिक निरन्तरता तथा सामूहिक उत्तरदायित्वको भावना विकास गर्ने एक महत्वपूर्ण सामाजिक अभियानका रूपमा स्थापित हुँदै आएको उहाँले बताउनुभयो ।
१४औँ वनभोज–२०८२, माघ १० गते, शनिबार चोभारमा हुनेछ । सहभागीका लागि बीस ठाउँबाट निःशुल्क सवारीको व्यवस्था गरिएको बताइएको छ ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १०:३२









