काठमाडौँमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी सुरु
४ माघ, काठमाडाैँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट गु्रपको संयुक्त आयोजनामा आजदेखि ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बङ्गलादेश आर्टिस्ट गु्रपका प्रेसिडेन्ट साइफुल इस्लामले प्रदर्शनीको आज यहाँ उद्घाटन गर्नुभयो ।
कुलपति हार्तम्छालीले प्रदर्शनीले नेपाल, भारत र बङ्गलादेशको कलालाई बुझ्न थप सहयोग गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । विशेष अतिथि पूर्वकुलपति किरण मानन्धरले वैश्विक परिस्थिति विचार गरी शान्तिको विषय उठान गरिएको प्रदर्शनीको सन्देश महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले प्रदर्शनीको विषयवस्तु शान्तिका लागि कला मात्र नभई संसारका लागि सन्देशसमेत भएको उल्लेख गर्नुभयो । उहाँले प्रदर्शनीमा तीन देशका संस्कृति, समाज र अनुभवसँग जोडिएर कलाकारले सिर्जना गरेका कलाकृति समावेश गरिएको बताउनुभयो ।
बङ्गलादेश आर्टिस्ट गु्रपका प्रेसिडेन्ट इस्लामले नेपालमा आर्ट फर पिस विषयमा गरिएको प्रदर्शनी भविष्यमा अन्य देशमा पनि गर्न सकिने बताउँदै प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्नुभयो ।
कलामार्फत शान्ति, मानवता र वैश्विक मित्रताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका १०० युवा तथा अग्रज कलाकारका कलाकृति समावेश गरिएका छन् । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:४९









