४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

प्रवासी नेपालीको प्रश्नः एमाले सुध्रिन फेरि अर्को भदौ २३/२४ आउनुपर्ने हो ?

-रामचन्द्र भट्ट

कांग्रेस त सुधारको ‘लिक’ मा पस्यो । एमाले के भएको ? किन यस्तो ढिँट भएको हँ ?

के भयो भने एमालेको चेत फिर्छ ?

मेरा सहपाठी मित्र विष्णु रिजालले केहि महिना अघि भने-‘यसपाली सांसदको चुनावमा उठ्नुपर्ने हुनसक्छ । अलिकति आर्थिक सहयोग गर है ।’

चुनाव हुने/नहुने ठेगान थिएन । संसद पुनर्स्थापनाको संभावना दह्रो थियो । अर्कातिर लुटिएका हतियार, ठूला र प्रमुख राजनीतिक दलहरुनै चुनावको पक्षमा थिएनन् । एमालेले त चुनावमा भागै लिन्नौ भन्न भ्याइसकेको थियो ।

मैले जिस्किएर भनेको थिएँ-‘एमाले चुनावमा भाग नलिने कुराले म औधी खुशी छु ।’विष्णुले हाँस्दै जवाफ फर्काए-‘मुला डलर जोगिने भयो भनेर ?’

विष्णु साह्रै मेहनती, जिम्मेवारीमा परेको दायित्व चौबिसै घण्टा खटेर पनि पुरा गर्ने व्यक्ति हो भन्ने कुरा नजिकबाट हेरेको छु । मेहनती, ईमान्दार र क्षमता देखेरै माधवकुमार नेपालले ३०/३१ वर्षको अल्लारे उमेरमै प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेर गहन जिम्मेवारी दिएका थिए । जुन जिम्मेवारीलाई उनले कतै कुनै विवादमा नपरि, कुनै घमण्ड र तुजुक नदेखाई पुरा गरेका थिए ।

पुतलीसडकमा रहेको तत्कालिन ‘एक्काइसौ शताव्दी’ मासिकको अफिसमा पहिलो पटक २०५८ सालतिर भेटेको थिएँ । उनी नेपालगन्जबाट भरखरै आएका थिए । बल्खुको एमाले मुख्यालयमा अफिस रहेको बुधबार साप्ताहिकमा पनि उनी पत्रकारिता गर्थे । त्यतिखेर बुधबारको सम्पादक Kundan Aryal हुनुहुन्थ्यो । सहसम्पादकमा सूर्य बहादुर थापा थिए । टिममा विवश बस्ती, बाबुराम विश्वकर्मा, गगन विष्ट लगायत थिए ।

प्रमंको प्रेस सल्लाहकार पद सकिएपछि बुधबार साप्ताहिकमै फर्किए । त्यसपछि एमालेको पूर्णकालिन नेता बने । भरखरै तेस्रो कार्यकालको लागि उनी एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका छन् भारी मतका साथ ।

दैलेख-२ बाट प्रतिनिधि सभाको टिकटको लागि भनेर केहि वर्षदेखि जिल्लामै केन्द्रीत थिए । जिल्लामा मेहनत गरेकैले हुनुपर्छ सर्वसम्मत हुन नसकेपछि आन्तरिक चुनाव भयो । उनले धेरै मत ल्याएर जिते । उनले ६७ मत पाए भने प्रतिस्पर्धी लक्ष्मी पोखरेलले तीन मत कम पाए । तर पोखरेललाई शनिबार एमालेले टिकट दियो, आन्तरिक चुनाव जित्ने विष्णुलाई खालीहात ।

यो कहाँसम्मको अन्याय, अत्याचार हो ? ओलीको कार्यशैली प्रति बोल्नै नपाउने बाटोमा एमाले अग्रसर देखिन्छ । एउटा लोकतान्त्रिक छवी बनाएको पार्टी कसरी पुटिनपथमा अघि बढिरहेको छ भनेर बुझ्नलाई ताप्लेजुंगमा योगेश भट्टराई, काभ्रेमा गोकुल बास्कोटा, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिएर अध्यक्षले आफ्नो तजबिजमा राखेको खबर आएको छ ।

हिजोआज एमालेमा ओली निकट नेताहरु जे मा पनि विदेशी षडयन्त्र देख्न थालेका छन् । ‘नाच्न जान्दिन बुहारी आँगन टेडो’ भनेझैँ आफू ढंग नपुऱ्याउने, लोकतान्त्रिक विधिलाई मिच्दै मनलाग्दी गर्ने अनि आफ्नो टाउको दुख्दा पनि विदेशी अझ पश्चिमा षडयन्त्र देख्छन् ।

एमालेको यो सरुवा रोग अहिले कांग्रेसमा सरेको छ । गगन थापा सभापति भएकोमा पनि पश्चिमा षडयन्त्र भन्दै केहि थान देउवा-कांग्रेसहरु फलाक्दै छन् । हे भगवान ! यिनका मति र गति कहिले सुध्रेला हँ ?

विपीले प्रजातान्त्रिक समाजवादी पार्टीको पहिचान दिएको कांग्रेस किन स्खलित भएको ? उता मदन भण्डारीले संसारबाट ढलेको ग्लासनोस्त र पेरेस्त्रोइका अनि बर्लिनको पर्खालको असरबाट पाठ सिकेर परिस्कृत रुपमा सिर्जना गरेको बहुदलीय जनवादलाई अहिलेको एमाले नेताहरुले माटोमा मिलाइसकेका छन् ।

आखिर चिनीमिलमा लिएको ऋण नतिरेर एक समय कर्जा सूचना केन्द्रको कालोसूचिमा परेका बीरेन्द्र कनौडिया एमाले पसेर हाताहाती टिकट पाउने भएपछि अब अरु नेताहरुले किन संगठन बनाईरहनु पर्यो ? मेहनत गर्ने एउटा र बाली भित्राउन अरु पस्ने भएपछि सबैजना ‘विष्णु रिजाल’ हुने त हुन् ।

२०४३ सालमा प्रधानपन्चमा लडेकाले अहिले पनि टिकट पाउँछन् । सातवटा दल बदल्दै उम्मेदवारी मनोनयनका दिन प्रवेश गर्नेले टिकट पाउँछन् । तर विष्णु, योगेश, खरोबोलीका गोकुल, सुरेन्द्रले टिकट किन पाउन् ?

संगठन भन्दा गणेशभक्ती गर्नेले टिकट पाएको देख्दा एमाले सुध्रिन फेरि अर्को भदौ २३/२४ आउनुपर्ने हो कि भनेर आज एकजना प्रवासी मन्चकै नेताले प्रश्न गर्दैथिए । उनी भन्दैथिए-‘लिक छाडिसकेको कांग्रेसलाई गगन/विश्वप्रकाशले दह्रो हस्तक्षेप गरेरट्रयाकमा ल्याए । एमालेमा किन युवाहरु एकठ्ठा हुन सकेनन् ?’

युवा भनिएका जति अधिकांश किन पानीलौरे भएका ?

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १०:०३