महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन अदालतबाट पनि सदर
१२ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले दुरूपयोग गर्दै आएका महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन अदालतले सदर गरेको छ । बुधबार उच्च अदालत पाटनले पाण्डेको निलम्बन सदर गरेको हो ।
आफ्नो निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालत पाटनका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार खारेज गर्दै निलम्बन सदर गरेको हो ।
पाण्डे जेठ २० मा निलम्बनमा परेका थिए । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, कार्यवाहक प्रहरी बल प्रमुख बिष्णुजोशी लगायतलाई विपक्षी बनाएर पाण्डे उच्च अदालत पुगेका थिए । उनले तत्कालका लागि अन्तरिम आदेश मार्फत राहत पाएको भए पनि पुनः निलम्बनमा परेका छन ।

अब पाण्डे मंसिर २० सम्म निलम्बनमै रहनेछन । गुरागाईले ६ महिनाका लागि पाण्डेलाई निलम्बन गर्नुभएको थियो । पाण्डेले बालेनको निर्देशनमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईसहित जनप्रतिनिधिहरूलाई दुर्व्यवहार नै गर्दै आएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतले परिचालन गर्ने महानगरीय प्रहरी बल बालेनले सिधै आफ्नो स्वार्थमा उपयोग र दुरूपयोग दुबै गर्दै आएका थिए । जसका कारण समाजमा महानगर प्रहरी बलका कर्मचारीलाई बालेनको सेना भनेर टिकाटिप्पणी समेत हुन थालेको थियो ।
प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार २०:०७










