२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

९ कात्तिक, सुनसरी ।  तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरुले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् ।

सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भन्नुभयो, “छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन/चार दिनमा रु तीन लाखभन्दा बढीको कारोबार हुन्छ ।” उहाँले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आउनुभएको छ । “सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्य जस्तै मानिन्छन् । बाँसको हस्तकला संरक्षणसँगै स्थानीय रोजगारीमा पनि सहयोग पुगेको उहाँको भनाइ छ । “छठ पर्व हामीजस्ता व्यापारीका लागि पनि अवसर हो, बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड हुन्छ, मैले भारतबाट सामान ल्याएर झुम्का, इनरुवा, इटहरीलगायतका बजारमा बिक्री गर्छु ।”

ग्राहक लक्ष्मी खड्काले भने आफू छठका लागि चोयाको सामग्री किन्न बजार आएको बताउनुभयो । “छठमा विशेषगरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ”, उहाँले भन्नुभयो ।

छठ पर्वले नेपाली समाजमा केबल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन । यसले बाँसको परम्परागत पेसा र हस्तकला संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । व्यापारीले पर्वका अवसरमा राम्रो आम्दानी गर्दै आएका छन् भने स्थानीय र बाह्य स्रोतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : October 26, 2025 at 3:00 pm