२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने

३१ असोज, काठमाडौँ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट मैदान भएको र अन्तरराष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमासमेत यसको योगदान हुने उल्लेख गर्नुभयो ।

घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजना बमोजिम रगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताउनुभयो ।

केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा जानुभएका मन्त्री घिसिङले गुरुयोजना बमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउनुभएको थियो ।

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

प्रकाशित मिति : October 17, 2025 at 3:15 pm