३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

युवा संघलाई र्याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

२४ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ ।

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाउनुभएकाे छ । ‘असोज २५ गते शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ। भदौ २३ गते गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति समेतका घटनाहरू हुन पुगेको यहाँहरू सबैलाई विदितै छ। शान्ति सुरक्षाको स्थिति बनाइराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सञ्चालन गर्ने कार्यहरू सुरू भएका छन्।

यसै सिलसिलामा विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १४:५५