जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २५६ जना घाइते
२३ भदौ, काठमाडौं । जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा २५६ जना घाइतेहरूको उपचार भइरहेको छ। सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।
ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ। वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेष्ट अस्पतालमा ३४ जनाको उपचार भइरहेको छ। साेमध्ये ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ।
पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३२ जनाको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार भइरहेकाे छ । नर्भिक अस्पतालमा ३ जना घाइते छन्।
कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ। भने झापाको दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १८:१९










