३० पुष २०८२, बुधबार | Thu Jan 15 2026

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

१२ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढेको गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेको गाडी एक आपसमा ठोक्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उक्त कार्यक्रममा जाने क्रममा मन्त्रीद्वय पाल र कार्कीका दुईवटा गाडी ठोक्किएका हुन् । मंगलबार दिउँसो करिब सवा १ बजे कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा क्षति भएपनि मानवीय क्षति भने भएको छैन । ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १४:५२