कुलिङ अफ पिरियडमा प्रचण्डको टिप्पणीप्रति योगेशको प्रतिवादः ‘छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?’
११ साउन, काठमाडौँ । ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादमा नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै कडा प्रतिक्रिया दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन गर्नुपर्ने अभिव्यक्ति दिनुभएका प्रचण्डको बोलीप्रति भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?’
भट्टराईले प्रचण्डकै नेतृत्वको सरकार (२०८० फागुन ११ गते) ले मन्त्रिपरिषद्बाट पारित गरेर संघीय संसदमा पेस गरेको निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडु सम्बन्धी कुनै व्यवस्था नै नभएको बताउनुभएको छ । उहाँले सोध्नुभएको छ, ‘जब तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो, विधेयकमा कुलिङ अफ पिरियड राखिएन, अहिले प्रतिपक्षमा पुगेपछि किन एकाएक कुलिङ अफ पिरियडको कुरा गर्न थाल्नुभयो ?’
प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका वरिष्ठतम सदस्य भएको स्मरण गराउँदै भट्टराईले प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाउनुभएको छ। समितिले विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने निर्णय गरेको भए पनि संसद्मा पेस हुँदा त्यो व्यवस्थालाई फेरबदल गरिएको भन्दै भट्टराईले प्रचण्डको भूमिकामाथि नै प्रश्न खडा गर्नुभएको हो ।
भट्टराईले प्रचण्डमाथि दोहोरो भूमिका खेलेको आरोप लगाउँदै लेख्नुभएको छ, ‘आफ्नै बोली आफैँलाई गलपासो नहोस्’ । उहाँले भन्नुभएको छ, ‘समितिको निर्णय, संसदमा आएको विधेयक र अहिलेको अभिव्यक्तिबीच प्रष्ट विरोधाभास छ । यस्तोमा नैतिक र राजनीतिक छानबिन त तपाईँमाथि हुनु पर्ने हो कि ?’
प्रकाशित मिति : 09:46









