१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

भोजपुरमा ज्वाइँले गरे सासु, ससुरासहित ४ जनाको निर्मम हत्या

२२ असार, काठमाडौँ । भोजपुरमा एक व्यक्तिले ससुराली पक्षका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।

रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुराली गएका भोजपुर नगरपालिका–२ हेलौछाका २८ वर्षीय राजेन्द्र राईले शनिबार राति सासु, ससुरा, श्रीमती र सालोको ज्यान लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राजेन्द्र राई आफैंले राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर हत्या स्वीकारेका थिए। प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार उनले फोनमा भनेका थिए, “ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।”

घटनाबारे खबर पाउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवासको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली घटनास्थल पुगेको बेला ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी, १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव भेटिएको थियो। प्रहरीका अनुसार श्रीमती र सालोको उमेर कम भएकाले नाम सार्वजनिक गरिएको छैन।

घटनापछि फरार रहेका राईलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका–१ हर्बुभञ्ज्याङ भन्ने स्थानमा घाइते अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। उनको पेटमा धारिलो हतियारको चोट लागेको र अहिले जिल्ला अस्पताल भोजपुरमा उपचाररत रहेको प्रहरीले जानकारी दियाे।

प्रारम्भिक बयानमा राईले आफ्नी सासुले राति करिब ११ बजे आफूलाई चक्कु प्रहार गरेपछि आक्रोशमा आएर चार जनाको हत्या गरेको दाबी गरेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक वर्षअघि प्रेम विवाह गरेका राजेन्द्र राईले किन यस्तो वीभत्स कदम चाले भन्नेबारे अहिले अनुसन्धान केन्द्रित भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : July 6, 2025 at 8:30 am